कालोझोला
“सत्यको साथमा”
“विश्वसनीय समाचारको स्रोत”
“जहाँ सत्य बोलिन्छ”
“समाचारभन्दा अगाडि सत्य”
www.kalojhola.com
https://www.youtube.com/@kalojhola
30/09/2026
धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।
जटिल प्रसूति समस्या सिर्जना भई उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो ।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याइएको छ। हाल उनको आवश्यक उपचार भइरहेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समयमै उद्धार, सुरक्षित मातृत्व र जीवनरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रमले जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउँदै आएको छ ।
https://kalojhola.com/article/929
30/09/2026
अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेसीशहर–चामे सडकखण्डअन्तर्गत बेसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ ।
तिमाङदेखि कोतोसम्म सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाउने काम भइरहेको र सडक अवरुद्ध भएका अन्य स्थानमा पनि यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने तथा क्षतिपूर्तिसम्बन्धी समस्या पालिका र जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ ।
अर्कोतर्फ, खोत्रोमा पूर्ण रूपमा क्षति पुगेको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल निर्माणको काम भइरहेको र उक्त स्थानमा साँझसम्म यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ ।
खोत्रोनजिकैको भीरमा थप सडक खोल्न नेपाली सेनासँगको समन्वयमा विस्फोट गराउने तयारी भइरहेको छ । यसैगरी, गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम जारी छ।
बाढीले बगाएका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरी आगामी शुक्रबारसम्म डुम्रे–बेसीशहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
https://kalojhola.com/article/928
30/09/2026
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् ।
पोखरामा देउवा समुहको सम्पर्क कार्यालय खोलेर पत्रकार सम्मेलन गर्दै नेता डा. महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि अहिलेको संस्थापन पक्षले इच्छा नदेखाएको आरोप लगाए ।
साथै नेता महत्तले अहिले पनि शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न आउने भन्दै झुट प्रचार गरिएको आरोप लगाउदै आफुहरु सत्यको लडाईमा रहेको बताउदै पार्टीमा झुटको बोली चलिरहेको बताए ।
अहिले सत्यको मुख बन्द गरिएको बताउदै बोलेपछि सामाजिक संजालमा गालीको बर्षा हुने गरेको उल्लेख गरे ।
उनले आफुहरुले पार्टीको अहिलेको अवस्था नचाहादा नचाहदै आएको बताए । नयाँ नेतृत्व नआएसम्म पार्टीले जित हासिल गर्न नसक्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गरिएको बताउदै उनले तर निर्वाचनको परिणाम त्यस्तो नआएको बताए । नेता महत्तले आफुहरुले विशेष महाधिवेशन पार्टीको विधान अनुसार नभएकोले नै पुनरावलोकनका लागि अदालतमा गएको बताए । आफुहरुले पार्टी एक भएर जानुपर्छ भन्ने विषयमा कोशिस गरेको र त्यो सफल नभएको बताउदै अदालतका अहिलेसम्मका निर्णय सहि नभएको कारणले आफुहरुलाई निस्सा दिइएको दाबी गरे ।
कांग्रेसको विवाद जारी रहेका बेला संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मङ्सिरमा गर्ने महाधिवेशनका लागि भोली देखि वडा स्तरमा अधिवेशन शुरु गर्दैछ ।
https://kalojhola.com/article/927
30/09/2026
नेपाल राष्ट्र बैंकले ३० दिनका लागि २० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी कार्तिक १३ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।
बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।
यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
https://kalojhola.com/article/926
30/09/2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
कतारको दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. वाग्ले बुधबार स्वदेश फर्किएका हुन् ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने आवश्यकता बारे पनि बैठकमा धारणा राखेका थिए ।
बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्रहरू कतार, भारत,बंगलादेश,आर्मेनिया,जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।
यस बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । बैठकमा भाग लिन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।
https://kalojhola.com/article/925
30/09/2026
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बुधबार बिहान काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा १ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । प्रहरीले दुर्घटनामा घाइते भएका आठै जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएको छ । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
https://kalojhola.com/article/924
30/09/2026
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार ११ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
https://kalojhola.com/article/923
30/09/2026
नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २८ सयले बढेर तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३९५ मा कारोबार भएको थियो ।
https://kalojhola.com/article/922
30/09/2026
युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा सांस्कृतिक झाँकीअन्तर्गत थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ । उद्घाटनपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष छलफल आयोजना गरिनेछ । मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ ।
आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परिचय तयार गर्ने, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन् ।
मेला अवधिभर प्रदर्शनी कक्ष, सूचना तथा परामर्श सेवा, सम्बन्धित निकायमा सिफारिस, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफललगायत कार्यक्रम निरन्तर सञ्चालन हुनेछन् ।
https://kalojhola.com/article/921
30/09/2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अत्याधुनिक कम्प्युटिङ तथा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । भविष्यमा यी व्यवस्थालाई कानुनी रूप दिन सकिने सम्भावनालाई पनि खुला राखिएको छ ।
ट्रम्पले सहमतिपछि आफूले प्रविधि कम्पनीहरूबाट प्रभावकारी रूपमा आफैंमाथि निगरानी गर्ने प्रतिबद्धता देखेको बताएका छन् । कम्पनीहरूले आफ्नो प्रविधिको विकास र प्रयोगमा आफैं निगरानी गर्नुपर्ने उनको भनाइ थियो ।
‘अत्याधुनिक कृत्रिम बौद्धिकताप्रतिको संयुक्त जिम्मेवारी’ नाम दिइएको यो दस्तावेज ह्वाइट हाउसमा आयोजित उच्चस्तरीय बैठकपछि सार्वजनिक गरिएको हो ।
बैठक प्रशासनले औपचारिक रूपमा ‘सुपर इन्टेलिजेन्स’ नाम दिएको विषयमा केन्द्रित थियो । अत्याधुनिक कृत्रिम बौद्धिकताको विकास तीव्र गतिमा भइरहेको र भविष्यमा यसमाथिको नियन्त्रण गुम्न सक्ने जोखिम रहेको भन्दै प्रविधि कम्पनीका प्रमुखहरूले सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।
सहमतिमा राष्ट्रपति ट्रम्पसँगै प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले पनि हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा गुगलका सुन्दर पिचाई, एन्थ्रोपिकका डारियो अमोदेई, मेटाका मार्क जुकरबर्ग, ओपनएआईका ग्रेग ब्रकम्यान, एक्सएआईका एलन मस्क र एनभिडियाका जेन्सेन हुआङ रहेका छन् ।
संयुक्त घोषणामा अमेरिकी नागरिक तथा विश्वका लागि सुरक्षित भविष्य निर्माण गर्न प्रत्येक कम्पनीले आफ्नो प्रविधिलाई सुरक्षित ढंगले विकास गर्नुपर्ने उल्लेख गरिएको छ । प्रविधिको विकासले ग्राहक तथा सर्वसाधारणको विश्वास बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।
अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको विकास र प्रयोग गर्ने कम्पनीले सम्भावित समस्या तत्काल समाधान गर्न बलियो प्रक्रिया अपनाउनुपर्ने सहमतिमा उल्लेख छ । यसका लागि चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने भनिएको छ ।
पहिलो तहमा, कम्पनीहरूले प्रणालीको विकास र प्रयोगका क्रममा त्यसको क्षमता तथा सुरक्षा व्यवस्थामाथि निगरानी गर्न बलियो आन्तरिक नियन्त्रण लागू गर्नुपर्नेछ । साइबर सुरक्षा, जैविक सुरक्षा र रासायनिक जोखिमजस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्नेछ। प्रणालीले अनपेक्षित रूपमा प्राविधिक संरचनामा प्रवेश गर्ने वा त्यसलाई क्षति पुर्याउने अवस्था आउन नदिन आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
दोस्रो तहमा, कम्पनीभित्रै एउटा अधिकारसम्पन्न टोली गठन गर्नुपर्नेछ। उक्त टोलीले नियन्त्रण, निगरानी र जोखिम पहिचान गर्ने प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेका छन् कि छैनन् भन्ने हेर्नेछ। समस्या देखिएमा त्यसलाई समाधान गर्ने जिम्मेवारी पनि उक्त टोलीको हुनेछ ।
तेस्रो तहमा, स्वतन्त्र बाह्य जाँचको व्यवस्था गरिनेछ। प्रविधि कम्पनीहरूले स्वतन्त्र लेखापरीक्षक वा मूल्याङ्कनकर्तामार्फत आफ्नो नियन्त्रण, निगरानी तथा जोखिम पहिचान गर्ने प्रणाली प्रभावकारी भए–नभएको परीक्षण गराउनुपर्नेछ ।
चौथो तहमा, सञ्चालक समितिअन्तर्गत स्वतन्त्र समिति गठन गर्ने व्यवस्था गरिएको छ । उक्त समितिले नियन्त्रण सञ्चालन गर्ने टोली तथा आन्तरिक र बाह्य लेखापरीक्षक एवं मूल्याङ्कनकर्ताको कामको निगरानी गर्नेछ । समितिले उनीहरूबाट प्रतिवेदन लिने र पहिचान भएका समस्या समाधान भए–नभएको सुनिश्चित गर्नेछ ।
संयुक्त घोषणामा यी चारै तहका नियन्त्रण र लेखापरीक्षणले कम्पनी, ग्राहक तथा सर्वसाधारणलाई प्रविधि सुरक्षित रूपमा सञ्चालन भइरहेको विश्वास दिलाउने उल्लेख गरिएको छ । सहमतिमा सहभागी प्रविधि कम्पनीहरूले नियमित रूपमा बैठक बसेर कृत्रिम बौद्धिकता प्रणालीको क्षमता बढ्दै जाँदा आवश्यक नयाँ सुरक्षा मापदण्ड र प्रभावकारी अभ्यास तय गर्ने पनि सहमति गरेका छन् ।
यो सहमति तत्काल लागू हुने सरकारी कानुन नभई कम्पनीहरूले स्वेच्छाले अपनाउने आत्मनियमनको प्रतिबद्धता हो। तर सहभागी कम्पनीहरूले भविष्यमा यस्ता सुरक्षा व्यवस्था अनिवार्य संघीय कानुनको रूप लिन सक्ने सम्भावनालाई औपचारिक रूपमा स्वीकार गरेका छन् ।
https://kalojhola.com/article/920
Address
Kathmandu
Malangwa
45800